काठमाडौँ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो । IMG_20241109_192645

सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ ।

बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय भएको छ । त्यस्तै हवाइ भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत भएको छ । 

हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा  क्यानले प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई तोकेको छ।

आजको बैठकमा क्यानका तर्फबाट महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरु सहभागी थिए ।