झापा । आज हरिबोधिनी एकादशी पर्व । हरिबोधिनी एकादशीलाई तुलसी विवाहको दिन पनि भनिन्छ।
आदिवासी तथा अन्य बहुसङ्ख्यक समुदायले हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाह ठुलो पर्वको रुपमा मनाउँदै आएका छन् । त्यसैले ती समुदायको बाहुल्यता रहेको पालिकाहरूले बिदा दिएका हुन् ।
हरिबोधिनी एकादशिको महत्व:
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले एकादशीलाई भगवान् बिष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।असार सुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुरणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनि एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएको किम्बदन्ती छ ।
६ पालिकाले दियो सार्वजनिक बिदा:
झापाका ६ पालिकाले आज मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन् ।अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना निकालेर बिदा दिएका हुन् । पालिकाहरूमा अति आवश्यकबाहेक पालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू बन्द रहने जारी गरिएको सूचनामा उल्लेख छ ।























































