मेचीनगर । मेचीनगर पालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नागरिकको सहयोग बिना नगरलाई समृद्ध बनाउन नसकिने बताएका छन् ।
शुक्रबार मेचीनगरको आर्थिक वर्ष २०८०\०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धी बार्षिक समीक्षा बैठकमा मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
नगरवासीको साथ, सहयोग तथा समन्वयको आवश्यकता रहेको उनको भनाई थियोे। उनले बैठकमा सबै शाखा प्रमुखहरूले प्रस्तुत गरेको प्रस्तुतीकरण सकरात्मक नै रहेको उल्लेख गरेका थिए । यद्यपी अझै धेरै राम्रो कार्य गर्नुपर्ने सुझाव दिदैँ आगामी दिनमा यस्ता कार्यक्रमलाई रचनात्मक र सकरात्मक बनाउन उनको जोड थियो ।
‘नगरको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारीहरू लागि परिरहेका छन्’, बुढाथोकीले भने–‘राम्रो कार्यमा यहाँका राजनीतिक दल, सामाजिक अभियन्ता, सञ्चारकर्मी र आम नगरबासीको साथ र सहयोग अपरिहार्य रहेको छ ।’
उनले स्थानीय सरकारले अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । उनका अनुसार समाजमा पछिल्लो समय सकरात्मक भन्दा पनि नकारात्मक बिषय बढी चर्चा हुने गरेको छ ।
उपमेयर मीना पोखरेल उप्रेतीले कार्यक्रमले राम्रो कामको थालनी भएको झल्को दिएको बताइन् । उनका अनुसार यस्ता कार्यक्रमले नगरपालिकाको विगत र वर्तमानको अवस्था बारे स्पष्ट झल्किन्छ ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सबै शाखाले योजना बनाएर काम गर्न सुझाव दिएका थिए । उनले आफ्नो जिम्मेवारीमा परेका कामहरुलाई छिटो छरितोसँगले कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
अधिकारीले जिम्मेवारीप्रति वफदार बन्न र एउटै घरको परिवारको सदस्य झै भएर काम गर्न सुझाव दिएका थिए ।
बैठकमा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, पूर्वाधार शाखा प्रमुख इन्जिनियर रोशन रिमाल, शहरी विकास शाखा प्रमुख इन्जिनियर जीवन भट्टराई, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुली लगायतले आ–आफ्ना शाखाको आर्थिक वर्ष २०८०÷०८१ मा भए गरेका प्रगित विवरण प्रस्तुत गरेका थिए ।
समीक्षा बैठकमा नगरका १५ वटै वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, वडा सचिव र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
उपमेयर उप्रेतीको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकको सञ्चालन योजना शाखाका सहायक सुमन रेग्मीले गरेका थिए ।























































