मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नकलबन्दा टि-स्टेटले बर्षौंदेखि कब्जा गरी प्रयोग गरिरहेकाे १० बिगाहा बढी सरकारी जग्गा आफ्नो अधिनमा ल्याएको छ ।
बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले सरकारी स्वामित्वमा रहेको उक्त जग्गा नगरपालिकाको नियन्त्रणमा ल्याएको हो ।
सरकारी स्वामित्वमा रहेको भएता पनि बर्षौदेखि मेचीनगर-५ स्थित प्राइभेट कम्पनी नकलबन्दा टि-स्टेटले उक्त जग्गा ओगटी रहेको पाइएपछि बारम्बार ताकेता गर्दापनि अटेर गरेको पाएपछि नगरपालिकाले कार्वाही स्वरुप डोजर चलाएर नियन्त्रणमा ल्याएको हो ।
सरकारी स्वामित्वको १० बिगाह ५ कठ्ठा ७ धुर जग्गामा लगाएको चियाको बिरुवा उखेलेर नगरपालिकाले आफ्नो अधिनमा ल्याएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । नकलबन्दा टि-स्टेटलाई नगरपालिकाबाट विभिन्न मितिमा सरकारी जग्गा खाली गरिदिन पत्र पठाइएकोमा त्यसलाई टि-स्टेट व्यवस्थापन समितिले बेवास्ता गरेको नगरप्रमुख बुढाथोकीको भनाइ छ ।
नगर प्रमुख बुढाथोकीले झापा साविक नकलबन्दा- ७ का कित्ता नम्बर ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७,२७८,३७९, ३८०, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१, २३२, ३८४, ३८१ र ३९१ का जग्गा मालपोत कार्यालय झापा भद्रपुरको मिति २०४८।६।२५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेशप्रसाद कानुको नाममा दर्ता भएका थियो । उक्त दर्तावाल दिनेशप्रसाद कानुले उक्त जग्गा र न.५७८क मिति२०५५।६।११को राजिनामबाट नकलबन्दा टि-स्टेटलाई बिक्री गरी नकलबन्दा टि-स्टेटको नाममा कायम हुन गएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौको च.न. ७९० मिति २०६६/८/२२ को निर्णय कार्यन्यन गर्ने सम्बन्धि पत्र तथा सोहि पत्र बमोजिम मालपोत कार्यलय भद्रपुरको मिति २०६६/९/६ को सदर टिप्पणीले नकलबन्दा टि- स्टेटको नाममा कायम माथि उल्लेखित जग्गा बदर गरेकाे जनाएको छ । सोही बदरको आधारमा नेपाल सरकारको नाममा कायम रहेको व्यहोरा मालपोत कार्यालय झापाले आफुहरूलाई जानकारी गराएको र सोही बमोजिम स्थानीय सरकारको तर्फबाट राज्यको सम्पत्ति संरक्षण सुरू गरिएको बुढाथोकीको भनाइ छ । अब यस जग्गालाई आवश्यक छलफल गरी भरपुर रुपमा नगरपालिकाले सदुपयोग गर्नेछ ।
क्षेत्रका समग्र स्थानीयले नगरप्रमुख बुढाथोकीको यो कदम प्रशंसनीय रहेको बताएका छन् । साथै अन्य क्षेत्रमा भएका यस्तै सरकारी जग्गा पनि चाडैं नगरपालिकाले सरकारको मातहतमा ल्याउन आग्रह गरे ।
उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, समाजसेवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।























































