मेचीनगर । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले झापाको मेचीनगरमा संचालित खानेपानीका योजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री यादवलाई खानेपानी योजनाअनुसारको निरन्तरता र देखिएका समस्याको बारेमा नगरभित्रका ३ वटै खानेपानी आयोजनाको ध्यानाकर्षण गराएका छन् ।
शनिबार चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयमै पुगेर समस्या र चुनौतीको बारेमा बुझेका थिए । संस्थाका अध्यक्ष राजन चिमरियाले मन्त्री यादवलाई संस्थाको हालसम्मको गतिविधि तत्काल आवश्यक डिप बोरिङ, ट्याङ्की र बिस्तारमा देखिने समस्याको बारेमा ध्यानाकर्षण गराएका थिए ।
अनुगमनमा मन्त्री यादव, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रज्राचार्य, इन्जिनियर लगायतको टोली रहेको थियो ।
त्यस्तै काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा पनि आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।
संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले मन्त्री यादवको टोलीलाई कार्यालय स्थापनादेखि हालसम्मको गतिविधिको बारेमा अवगत गराएका थिए ।
२० बुँदामा समेटिएको दुई पन्नाको पत्रसमेत मन्त्री यादवको टोलीलाई अध्यक्ष बुढाथोकीले बुझाएका थिए । संस्थाको अवस्था बारे जानकारी लिएपछि मन्त्री यादवले देशभरिमा नै जेठो खानेपानी कार्यालय रहेको र भर्खरै प्रदेश सरकारबाट उत्कृष्ट भएकोमा प्रशंसा गर्दे अब देशभरिबाटै उत्कृष्ट हुने गरीको काम गर्न सुझाव दिएका थिए ।
धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा पुगेर त्यहाँको समस्याको बारेमा जानकारी गराएको अध्यक्ष धनकाजी खत्रीले बताए । उनले खानेपानीको माग बढेपनि बिबिध समस्याका कारण पूरा गर्न नसकिएको बताए ।
संस्थाको दिशाजन्य लेदो व्यवस्थापनको प्रशोधन केन्द्र सूचारु भएपनि पाइलट आयोजना भएकोले डिजाइनमा त्रुटी हुँदा त्यसको सुधारका लागि मन्त्रीलाई ध्यानाकषर्ण गरिएको थियो ।
आइतबार मोरङको उर्लाबारी खानेपानीमा सञ्चालित सहलगानी आयोजनाको उद्घाटन गर्न आएका मन्त्री यादवले काठमाडौँबाट सोझै झापाका विभिन्न खानेपानी कार्यालयमा आएर अवलोकन तथा निरीक्षण गरेका हुन् ।























































