बुट्टाबारी । झापाको बिर्तामोड नगरपालिका-६ स्थित बुट्टावारीको ग्यारेजमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ ।

अर्जुनधारा-११ बस्ने दिपक राजवंशीले भाडामा लिई सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आज साँझ ६.४० बजे बिद्युत सर्ट भइ आगलागी भएको हो । आशिष वनको घरको सटरभित्र वर्कसपका लागि मर्मत गर्न राखिएको एउटा स्कुटर, एउटा सुपर स्प्लेण्डर मोटरसाइकल, एउटा एयर कम्प्रेसर र मर्मतमा प्रयोग हुने बिभिन्न औजारहरु र उक्त कोठामा समेत क्षति हुँदा १५ बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी बुट्टावारी र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोली,स्थानीय, बिर्तामोड,भद्रपुर र मेचीनगर नगरपालिकाको दमकलको सहयतामा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ ।