मेचीनगर नगर प्रहरीकाे जिम्मेवारी र कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले झापाको मेचीनगरले प्रहरीका लागि सवारी साधन उपलब्ध गराएको छ ।
आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेका छन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
एक लाख ३० हजार बढी जनसंख्या रहेको नगरमा एक चालकसहित १९ जना नगरप्रहरी रहेका छन् भने नगरपालिका मेचीनगर नगरपालिकामा १५ वटा वडा रहेका छन् ।
जनताको सेवामा नगरप्रहरीहरूको जिम्मेवारी महत्त्वपूर्ण रहने र त्यसलाई सहजरूपमा कार्यान्वयन गर्न सवारीसाधन उपलब्ध गराइएको उनको भनाइ छ । साथै उनले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।
उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अधिकारी र प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख वस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिए ।