मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि अपाङ्ग स्वास्थ्य अभियान गर्ने भएको छ । १५ वटै वडामा बिशेषज्ञ  डाक्टर, स्वास्थ्यकर्मीसहितको टोली लगेर स्वास्थ्य परीक्षण गर्ने भएको हो ।

नगरपालिकाले स्वास्थ्य परीक्षणसंगै, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गर्ने जनाएको छ । प्रत्येक वडामा एक दिन सञ्चालन गरिने उक्त अभियान पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने जनाइएको छ ।

शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेको बताउँदै त्यसलाई चिर्न आवश्यक रहेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक छ । मानवीय चिन्तनको चेत सहि कार्यका लागि लगाउँदै समाजका सबैले अशक्त एवम् अपांगता भएको मानिसहरुलाई सभ्य व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौताअनुसार मेचीनगरमा अपाङ्ग  नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्वि, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए ।  

पहिलो चरणमा महत्वपूर्ण कार्यक्रममध्ये अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम सञ्चालन गर्न लागेको मेचीनगरको उपमेयर मिना उप्रेती पोख्रेलले बताइन् । लक्षित वर्गमा नवविवाहित दम्पति, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् । त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने उपप्रमुख मीना पोख्रेल उप्रेतीको दावी छ ।

बिगतमा मेचीनगर क्षेत्रमा ३ हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ । प्रत्येक वडामा एक।एक दिन चल्ने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु समेत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । उक्त कार्यक्रम सफल पार्न आँखा, कान, मनोविद, मेडिकललगायतका स्वास्थ्य परीक्षणका लागि पाँच किसिमको बिशेषज्ञ डाक्टरहरु आउनेछन् । त्यस्तै मेचीनगरका स्वास्थ्यकर्मीलगायत सामाजिक विकास शाखा, महिला बालबालिका तथा समाज कल्याण शाखा र सम्बन्धित वडा कार्यालयका कर्मचारीसमेत खटिने उनले जानकारी दिए ।

नगरपालिकाले अपाङ्गता भएकाहरुको बिशेष स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रमलाई सबै वडामा प्रभावकारी बनाउनका लागि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष, वडासदस्य, वडासचिव, करुणा फाउण्डेशनका जिल्ला तथा पालिकाका प्रतिनिधिलगायतसंग संयुक्त छलफल समेत चलाएको थियो । मेचीनगरको बैठक हलमा सम्पन्न छलफलको सहजीकरण मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।