विराटनगर । फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । रंगेली नगरपालिका-७ शुक्रबारेस्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजयकुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मण्डललाई सोमबार नियन्त्रणमा लिएको हो । फार्मेसीमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ट्रमाडोल पाँच हजार तीन सय क्याप्सुल, स्पास्पेईन् दुई हजार ट्याबलेट, डाइसे तेह्र हजार ६ सय ट्याबलेट प्रहरीले फेला पारेको थियो ।

हाल मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।