बारा । बाराको जीतपुरसिमरा दुधौरा खोला पुल नजिक कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडार दुधौरा खोला पुल नजिक एक जना पुरुष गाडीभित्र मृत अवस्थामा फेला परेका हुन् ।

रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका-१ घर भई सिमरा बिमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्थानीयहरुले गाडीभित्र शव रहेको खबर गर्नेबितिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो । बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपतिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।