झापा । मादक पदार्थ सेवन गरी चालकले चलाएको अटो इलाममा दुर्घटना हुँदा बाबुछोरी घाइते भएका छन् ।  आइतबारसाँझ इलाम सूर्योदय नगरपालिका-३ बुधपार्कमा पशुपतिनगर-फिक्कलभित्री पक्की सडकखण्डमा बौद्धधामबाट तीनखुट्टेतर्फ जाँदै गरेको प्रदेश-०१-००१ ह ८६६८ नं.को अटो आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा सूर्योदय-३ बस्ने ३१ वर्षीय नयन सुब्बा र उनकी २३ महिनाकी छोरी कुनसङ सुब्बा घाइते भएका हुन्।

दुवै घाइतेलाई उपचारको लागि फिक्कल अस्पताल पठाइएको छ । मादक पदार्थ सेवन गरी अटो चलाउने अटो चालक सूर्योदय-३ कटेबुङ बस्ने ३७ वर्षीय राम गोलेलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।