मेचीनगर । झापाको मेचीनगरमा सञ्चालन हुँदैआएको स्वास्थ्य चेकजाँचसहित अपाङ्गलाई प्रमाणपत्र बितरण शिविर प्रभावकारी बनेको पाइएको छ ।

गत पुस १ गतेदेखि प्रत्येक वडामा प्रत्येक दिन सञ्चालन हुँदैआएको शिबिरबाट र शिबिरमा पुग्न नसक्ने अशक्त अपाङ्गको घरमै पुगेर चेकजाँच र प्रमाणपत्र बितरण गरेपछि सेवा प्रभावकारी बनेको पाइएको हो । 

शिबिरसम्म पुग्न नसक्ने अशक्त अपाङ्गको घरघरमै पुगेर वडा नम्बर ९ ले उक्त सेवा मंगलबार दिएको थियो । वडा नम्बर ९ ले शिविरमा पुग्न नसक्ने अशक्त अपाङ्गलाई अभियान अन्तरगत घरमै पुगेर सेवा प्रदान गरेको हो । वडा नम्बर ९ को तथ्याकं अनुसार अपाङ्गता भएका दुई सय १९ जना अपाङ्ग व्यक्तिहरु रहेकोमा १७९ जनाले मात्रै  शिबिरबाट सेवा लिएका थिए । अन्य ४० जना अशक्त अपाङ्गहरुको घरघरमै पुगेर सेवा दिइएको मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङले जानकारी दिए ।

जनप्रतिनिधिको टोलीले विशेषज्ञ डाक्टरसहित उनीहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरणका लागि सिफारिस गरिएको मेचीनगर–९ का वडाध्यक्ष  तामाङको भनाई छ । घरघरमै पुगेर सेवा दिइएको यो पहिलो र प्रभावकारी कार्यक्रम भएको स्थानीयको भनाई छ । 

यसअघि मेचीनगरले आठवटै वडामा वडा कार्यालयमा उक्त  अभियान सम्पन्न गरिसकेको छ । उक्त वडामा मात्रै आयोजना गरिएको शिबिरमा पुग्न नसक्ने अशक्त अपाङ्गको घरमै सेवा नदिएको स्थानीयको गुनासो छ । सेवा घरमै नपुगेपछी अशक्त अपाङ्गले जसोतसो गरेर शिबिरमा पुग्नै पर्ने बाध्यता बनेको एक अपाङले बताए । अशक्तलाई घरमै सेवा दिइनु राम्रो अभियान हो । उनले भने तर, घरमा सेवासहितको टोली नपुग्ने जनप्रतिनिधिले भनेपछि बाध्यताले वडा कार्यालयस्थित शिबिरमा पुगेको उनले सुनाए ।

मेचीनगरको वडा नम्बर १ बाट शुरु गरिएको शिबिर नौ दिनपछि वडा नम्बर-९ मा स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । जसमा एक दिनमात्रै वडा कार्यालयमा पुग्न नसक्नेलाई घरमै पुगेर चेकजाँच औषधि बितरण प्रमाणपत्र पत्र बितरण गरेको थियो । 

यसरी सेवा दिइएको थिएन । बुधबार वडा नम्बर १० मा शिबिर हुने जनाएको छ ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा पहिलो पटक स्वास्थ्य परीक्षणसहितको कार्यक्रम सञ्चालनमा ल्याएको हो ।उक्त अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको जनाएको छ ।