झापा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरीलाई सुम्पिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद व्यवस्थान कार्यालय चन्द्रगढीको निरीक्षण भ्रमणका क्रममा  उक्त निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले जिल्ला प्रहरी कार्यालय झापामा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्ष तथा विपद व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरुसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका थिए।

निर्देशनको क्रममा उनले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफूलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए।

सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम  नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका थिए ।  श्रोतसाधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी प्रभावकारीरुपमा सुरक्षा प्रदान गर्न जरुरी रहेको बताए। 

प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न आग्रह गरेका थिए ।

धेरै क्षेत्रफल खुल्ला सीमा रहेको झापा जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, जंगली हात्तीको आतंकमा स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न कडाईका साथ लाग्न निर्देशन दिएका छन्। उनले झापा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेका थिए।