मेचीनगर । मेचीनगरमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण र परिचयपत्र बितरण अभियानअन्तरगत १३ दिनमा १८ सय फरक क्षमताका ब्यक्तीले सेवा लिएका छन् ।
वडा नम्बर १३ मा ९१ जना व्यक्तिले सेवा लिएका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचयपत्र वितरण अभियानमार्फत हालसम्म करिव एक हजार ८०० जनाले सो सेवा लिइसकेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बुढाथोकीले फरक क्षमताका ब्यक्तीको पिडा स्वयं र परिवारलाई मात्रै थाहा हुने र पिडा कल्पना मात्रै गर्दा पनि असामान्य लाग्ने भएकाले पालिकाले अपाङ्गको पिडामा स्वास्थ्य सुधार ल्याउन अभियानलाई आआफ्नो तर्फबाट सहयोग पुर्याउन आग्रह गरे ।
मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १३ नम्बर वडामा सम्पन्न भएको हो ।
पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान अन्तरगत वडा नम्बर १ देखि १३ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब बाँकी रहेको वडामा पनि आइतबार वडा नम्बर १४ मा र सोमबार वडा नम्बर १५ मा अभियान भएपछि समापन हुने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।























































