झापा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्काई र रतुवा नदीबाटमा पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको गौरिगन्जमा आयोजित अधिवेशन एबम् भ्रष्टाचार विरुद्धको अभियान सभामा सम्बोधन गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लामो समयदेखि ठेक्का लागेर पनि निर्माण हुन नसकेको कनकाई र रतुवाको अलपत्र पुलको निर्माण पूरा गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘आज आउँदै गर्दा २० बर्षदेखि निर्माण हुन नसकेको कनकाई पुलको अवलोकन गर्ने अवसर पाएको भन्दै उनले भने,‘लामो समयदेखि पुल निर्माण सम्पन्न नहुँदा यहाका जनताले पाएको दुःख मैले महशुस गरेको छु, यसको बिषयमा संसदमा कुरा उठाउँछु र समाधानको प्रयास गर्छु ।’
उनले भने,‘कनकाई र रतुवा पुल निर्माणका लागि सक्दो पहल गर्छु, यो पुल निर्माण भइसक्दा भद्रपुरदेखि बिराटनगरसम्मको यात्रा अत्यन्तै सहज हुनेछ ।’ अध्यक्ष प्रचण्डले पुलको अवलोकन पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेको बताए ।
यस्तो छ कन्काई पुलको अवस्था:
२०६८ जेठ ३१ गते पप्पु र महादेव खिम्ती जेभी कम्पनीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी सरकारसमक्ष ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको थियो । ७ सय २४ मिटर लम्बाइ रहेको पुल बनाउन ३४ करोड नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सुरुदेखि नै पप्पु र महादेव खिम्ती जेभी कम्पनीले समयमै सम्पन्न गर्नेभन्दा विकास आयोजनाको ठेक्का लिने र होल्ड गरेर राख्ने काममा लागेपछि पुलको निर्माण अलपत्र बनाएर छाडेको थिए । त्यो समयमा पनि सरकारले पुल निर्माणमा कम्पनीसँग एक्सन नलिएपछी नौ वर्षसम्म निर्माणले निरंतरता नपाएको स्थानीयको भनाई छ ।
वर्षौैँदेखि अलपत्र पुल सम्पन्न गर्न भन्दै सरकारले पाँचपटक म्याद थप्दा समेत ५० प्रतिशत काम सम्पन्न हुँदै गर्दा ठेकेदारले अलपत्र पारेर छोडेका थिए । मोटो लगानी गर्ने सरकारी संयन्त्र मौन हुँदा स्थानीयले निराश र सास्ती पाउँदै आएका छन् ।
पप्पु कम्पनीले निर्माण अलपत्र गरेको पाएपछि २०७७ सालमा महादेव खिम्तीले निर्माण गर्ने जिम्मा लिएर काम गर्न थालेको थियो । हालसम्म करिब ५० प्रतिशत रकम निर्माण कम्पनीले भुक्तानी बुझिसकेको छ ।
तर, हुलाकी राजमार्गअन्तर्गत कन्काई माई नदीको पुल निर्माण १३ वर्ष बितिसक्दा पनि निर्माण अलपत्र नै छ । पाँचौँपटक पछाडि थप गरेको म्याद ०८० असार मसान्तमा सकिएको छ । यता निर्माण निरन्तर नहुँदा भेलले कतिपय पिल्लर नै पुरिएको देखिन्छ भने नदीले धार परिवर्तन गरेर सर्वसाधारणलाई आगमनमा कठिनाइ हुँदै हाल बासको पुलमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।
हाल पुलमा लगाइएको रड र फलामे पोल चोरी हुँदै आएको छ । हाल चन्द्रगढीसम्म आगमन गर्नका लागि जोखिम मोलेर र पैसा तिरेर हिउँदमा बाँसको पुल र बर्खामा डुंगाबाट यात्रा गर्दैआएका छ्न् । झापा गाउँपालिका र गौरीगन्ज गाउँपलिका जोड्ने हुलाकी मार्ग अन्तरगत कन्काई नदी पर्दछ ।
स्थानीय तहले डुंगा र बाँसको पुल सञ्चालनका ठेक्का लगाएको छ । गौरीगन्ज-१ कन्काई माई नदीको तटीय क्षेत्रका ईश्वर माझी बताए । राजमार्गअन्तरगतको कन्काई नदीमा पुल निर्माण नहुँदा दैनिक सयौले बढी यात्रु जोखिम मोलेर आगमन गर्दै आएको स्थानीय किस्कु राजबंशीले बताइन् ।
हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका अनुसार समस्या देखिएकाले पुनः निर्माण सुचारु गर्न उपल्लो तहको आदेश र निर्णय हुन आवश्यक हुन्छ ।























































