झापा । पूर्वको कृषि उपज बजारको रुपमा रहेको झापाको बिर्तामोडको कृषि थोक बजार समितिलाई अनियमितता आरोप लागेको छ ।
समितिले बिगतमा गरेको पुर्वाधार निर्माण कार्य, खरिद प्रकृया र व्यवस्थापनका गतिविधिहरूमा आर्थिक अनियमितता गरेको विषयमा छानबिनका लागि सम्बन्धित निकायले निर्देशन गरेको हो । अनियमितताको आशंकामा कोशी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र झापाले कागजात प्रस्तुत गर्न कृषि थोक बजार समितिलाई निर्देशन दिएको थियो।
कार्तिक २० गते चलान नम्बर १५६ को पत्र अनुसार, कृषि ज्ञान केन्द्रले समितिबाट निर्णय र खर्च विवरणसँग अनियमितताको सम्भावित आधार मानेको बनेको भन्दै पत्रचार गरेको थियो ।
बजार समितिले कोठा निर्माण र अन्य संरचना निर्माणमा भएका निर्णय र खर्चका कागजात चुस्तदुरुस्त गर्नुपर्ने, ए.सी. खरिद प्रक्रियामा लागेको खर्च र बिलहरूको विवरण पेश गर्नुपर्ने, कृषि चोक बजारमा कोठा भाडामा लगाउने प्रकृयाका प्रमाण पेश गर्नुपर्ने, समितिका अध्यक्ष र सदस्यहरूको यात्रा खर्चका कागजात पेश गर्न कृषि ज्ञान केन्द्रले निर्देशन गरेको थियो ।
बजार परिसरभित्र खाल्डा पुर्ने, नाली निर्माण गर्ने, र पश्चिम गेट मर्मत गर्दा भएको खर्चका बिल तथा विवरण पेश गर्नुपर्ने, प्रयोगमा नआएका ४ थान फलामको घपनीको प्रयोग नहुनुको कारणसहितका विवरण पेश कार्तिक २१ गतेभित्र गर्न कृषि ज्ञान केन्द्रले निर्देशन दिएको थियो।
समितिले आवश्यक कागजातहरू सम्बन्धित निकायलाई पठाएको थियो । तर हालसम्म कृषि ज्ञान केन्द्रले उठाएका आशंकाहरूको बारेमा ठोस निचोड सार्वजनिक नगरेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष निरोज ओलीले बताए ।
अध्यक्ष ओलीले छानबिन प्रकृयामा आफू पूर्णरूपमा सहमत रहेको र सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरे।
कृषि थोक बजार समितिलाई आरोपबाट मुक्त गर्न वा सप्रमाण कारबाही अघि बढाउन सम्बन्धित निकायले स्पष्ट निर्णय लिनुपर्ने स्थानीय ब्यापारीको धारणा छ ।























































