इलाम । ‘नो केबलकार समूह’ले सरकारसँग वार्ता बस्नका लागि तीनवटा प्रस्ताव अघि सारेका छन् । आन्दोलनकारीले केबलकार निर्माणको काम रोकिनुपर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिनासर्त रिहा हुनुपर्ने माग अघि सारेका हुन् ।
कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले मंगलबार औपचारिक वार्ताको लागि आव्हान गरेपनि वार्ताको विषयमा आफूहरूलाई जानकारी नभएको र आधिकारिक सूचना पनि नआएको किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।
उनले प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने पनि जनाए । ‘यो (केबलकार) संघीय सरकारले गरेको निर्णय हो त्यसैले संघसँगको विषय हो,’ उनले भने, ‘प्रदेशले गरेको निर्णय पनि हामीले सञ्चार माध्यममा देखेको हो आधिकारिक सूचना छैन ।’
प्रदेश सरकारको वार्ता समितिका सदस्य सचिव कमल थापाले आन्दोलनमा को-को हुनुहुन्छ थाहा नभएकाले सार्वजनिक रूपमा आव्हान गरेको बताए । यही जानकारी नपाएको भन्नु भए समितिमा छलफल हुने उनले बताए । समितिले गरेको निर्णयमा वार्तामा आउन वा समितिका सदस्यसँग औपचारिक अनौपचारिक सम्पर्क गर्न भनिएको छ ।
यस्तै आन्दोलनकारीले दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् । राजमार्गको ठाउँ-ठाउँमा बसेका कार्यकर्ताले मोटरसाइकलदेखि ट्याम्पो र अन्य सवारी चल्न दिएका छैनन् । जसका कारण अस्पताल जाने बिरामी र सर्वसाधारण नागरिक मारमा परेका छन् ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर चारजना आन्दोलनकारी घाइते भएका छन् ।























































