काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। बर्खे अधिवेशन सकिएको पाँच महिना ढिला गरेर आजबाट हिउँदे अधिवेशन सुरु हुन लागेको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्डु० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले बोल्ने कार्यसूची छ।

आजका दुबै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ। विपक्षी दलहरुले भने अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन्।

हिजो (बिहीबार) सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

आज ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण) पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची छ।

कार्यसूचीबारे सभामुख देवराज घिमिरेले दलका प्रमुख समेतक तथा सचेतकहरूसँग छलफल गरीसक्नुभएको छ ।