झापा । प्रतिनिधि सभामा कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले विवाह गर्ने कानूनी उमेर घटाउने प्रस्तावविरुद्ध झापामा ज्ञापनपत्र बुझाएका छन् ।
महिला जनचेतना केन्द्र, मेचीनगरको अगुवाइमा झापाको कचनकवल-५ मा अध्ययनरत कक्षा ९ का छात्राहरूले  कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई ज्ञापनपत्र बुझाएका हुन्।
छात्राहरूको टोलीले बुझाएको ज्ञापनपत्रमा नेपालमा विवाहको न्यूनतम कानूनी उमेर २० वर्ष कायम गर्नुपर्ने माग गरिएको छ। साथै, बाल विवाहको जोखिम अझै पनि कायम रहेको अवस्थामा उमेर घटाउनु समाजलाई उल्टो दिशामा लैजाने चेतावनी दिइएको छ।
बाल विवाह न्यूनिकरणका लागि लामो समयदेखि क्रियाशील संघसंस्थाहरू र अभियन्ताहरूले उक्त प्रस्तावको विरोध गरिरहेका छन्।
ज्ञापनपत्रमा बाल विवाह न्यूनीकरणका लागि सरकार, समुदाय र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख छ। साथै, विवाहको उमेर घटाउने प्रस्ताव फिर्ता लिन र जनचेतना अभिवृद्धि गर्न राज्यलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। ज्ञापनपत्र बुझाउने छात्राहरूले कम उमेरमा विवाह गर्दा किशोरीहरूको शारीरिक, मानसिक र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।