झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) झापाको दमक आउने भएका छन् । यहीँ फागुन ३ गते हुन गइरहेको पार्टी नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रचण्ड दमक आउन लागेको जिल्ला अध्यक्ष राजु आचार्यले जानकारी दिए । माओवादी केन्द्र दमक नगर अधिवेशन उद्घाटन पूर्व दमकको मुख्य चोकमा आयोजित सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

सो कार्यक्रममा दमक नगरभित्रका विभिन्न वडाहरुबाट कार्यकर्ता र सुभचिन्तक ल्याउने ब्यवस्था मिलाइएको र कार्यक्रम सफल तुल्याउन विभिन्न उपसमितिसमेत गठन गरिएको उनले जानकारी दिए ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा अध्यक्ष प्रचण्डको उपश्थितिले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग आउने अपेक्षा गरिएको जिल्ला इन्चार्ज रञ्जित तामाङ बताउछन् । 

नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी दमक र आसपासका पालिकाबाट १५ सय बढी माओवादीमा प्रवेश गर्दैछन् भने प्रचण्डले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको बतााइएको छ । सोही कार्यक्रममा पार्टीका ज्येष्ठ नागरिकहरुलाई अध्यक्ष प्रचण्डले अभिनन्दन गर्ने कार्यक्रम तय भएको नगर समितिका इन्चार्ज बेदु गौतमले जानकारी दिए । प्रचण्ड आउने कार्यक्रमको सुरक्षा ब्यवस्थामा वाइसीएल नेपालका पाँच सयबढी कार्यकर्ता परिचालन गरिएको वाईसीएल नेपालका केन्द्रिय सचिव डम्वर पुलामी कर्मा बताउछन् ।