चारआली । लामो समयदेखि बनको अतिक्रमित जमिन खाली गर्न डिभिजन बन कार्यालय झापाले शनिबार चारआली डोजर चलाएको छ । मेचीनगर-१२ प्रगति सामुदायिक बनको जमिनमा १७ वर्षयता स्थानीयले जिबिकोपार्जनको आधारसहित बासस्थानमा डोजर चलाएको हो । वनको जमिन अतिक्रमण गरी जिबिकोपार्जनको श्रोत बनाएका स्थानीयले वनले जारी गरेको नियम र निर्णय उल्लङ्घन गर्दै आएपछि डोजर चलाउनुपरेको डिभिजन बन कार्यालयका प्रमुख मेघनाथ राईले बताए ।

बन समितिले पटकपटक जारी गरेको सूचनालाई अटेर गर्दै आएका स्थानीयलाई पुनः डिभिजन वन कार्यालयले वनको जमिन खाली गर्न १ महिने सूचना जारी गरेको उनको भनाई छ । बन अतिक्रमण गरी बनाइएको भन्दै उक्त बजारका १८ वटा अस्थायी संरचना (पसल) हटाइएको छ ।

अतिक्रमण हटाउन ठूलो संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको थियो । अन्य टहरा हटाउन १० दिनको समय प्रदान गरेको मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले आग्रह गरेका थिए । बुढाथोकीले गरेको आग्रहप्रती बन डिभिजन कार्यालयका प्रमुख राईले डोजर नै चलाउनुपर्ने कारणसहित प्रतीउत्तर दिएका थिए ।

अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा प्रगति सामुदायिक बनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् ।
बनका अध्यक्ष निरौलालाई दूर्ब्यवहार गरेर भागेकी महिलालाई प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । पक्राउ परेकी महिलाको नाम खुलेको छैन ।























































