भद्रपुर । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तरगत अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिमसहित खेल मैदानको ब्यवस्थापन तयारी पूरा भएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले सोमबार पत्रकार सम्मेलनमा बताए ।
फागुन ७ गतेदेखि सुरु गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको ढकालको भनाई छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने कार्यक्रम तय गरिएको समेत जानकारी दिए ।
प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर दुई सय रुपैयाँ, सेमिफाइनलमा तीन सय रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि तीन सय रुपैयाँ र पक्की प्यारापिटका लागि पाँच सय रुपैयाँ कायम गरिएको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गोल्डकपका मुख्य सल्लाहकार टिकाराज ढकाल, अध्यक्ष दिपेश ढकाल र महासचिव जीवनकुमार श्रेष्ठले जिज्ञाशाको जवाफ दिएका थिए ।























































