मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडक बत्तीको महसुल समयमै भुक्तानी नगर्दा समस्या आएको विद्युत प्राधिकरण धुलाबारी शाखाले जनाएको छ । नगरपालिकाले लामो समययता विद्युत महशुलको मोटो रकम भुक्तानी गर्न आनेकानी गर्दा शाखाले केन्द्रको दबाब खेप्दै आएको कार्यालयले जनाएको छ । मेचीनगरले गत २०७८ सालदेखि २०८१ माघ महिनासम्मको ३ करोड ६ लाख ५८ हजार ६८ रुपैयाँ सावाँ बक्यौता रकम भुक्तानी नदिएको कार्यालयका प्रमुख माधवप्रसाद यादवले बताए ।
बक्यौता भुक्तानीका लागि प्राधिकरणले पटकपटक नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुखप्रशासकीय अधिकृतकहाँ पत्रसहित समन्वय गरेपनि बक्यौता भुक्तानी नआएको प्रमुख यादबको भनाई छ ।
बक्यौता भुक्तानीका लागि प्राधिकरणले पटकपटक नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुखप्रशासकीय अधिकृतकहाँ पत्रसहित समन्वय गरेपनि बक्यौता भुक्तानी नआएको प्रमुख यादबको भनाई छ ।उनका अनुसार स्थानीय तहबाट मोटो रकम बक्यौता रहिआउँदा शाखालाई केन्द्रीय कार्यालयले लाइन काट्न दबाब दिने गरेको छ । केन्द्रको आदेशलाई पालना गर्दा सडक नै अन्धकारमय हुने र बिकृति बड्ने भएकाले केही समयसम्म सडक बत्तीको लाइन नकाटेर सहयोग पुर्याएको यादवको भनाई छ ।
नगरपालिकाले गत २०८१ असारमा १० लाख रकम भुक्तानी दिएकोसमेत जानकारी दिए ।
मेचीनगरको वडा नम्बर-१२ बाहेकका १४ वटा वडामा रहेका २४१ वटा सडकमा सडकबत्तीको बक्यौता हो । उक्त सावाँ महशुलको २५ प्रतिशतसम्म जरिवाना लगाइने प्राधिकरणको नियम छ । धुलाबारी बितरण केन्द्रले बुद्धशान्ति गाउँपालिका केही वडामा समेत सेवा दिँदै आएको छ । उक्त वडामा सडकबतीको महशुल प्रत्येक महिना भुक्तानी हुने गरेको कार्यालयमा रेकर्ड छ । बुद्धशान्तिमा १८२ वटा ग्राहकको लाइन काट्दा २० लाख ८४ हजार पाँच सय ९० रुपैयाँ विद्युत महसुल संकलन गरिएको महसुल शाखा प्रमुख प्रेम बुढाथोकी भनाई छ ।
यता मेचीनगर पालिकाले विद्युतको महसुल भुक्तानीका लागि आवश्यक समन्वय अघि बढाएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । पहिले नेपाल सरकारले भुक्तानी गर्दै आएकोमा पछिल्लो समयमा स्थानीय तहले भुक्तानी गर्नुपर्ने भएकाले समस्या आएको हो, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, `५ वर्ष अघिदेखिकै बक्यौता रहिआएकाले मोटो रकम बक्यौता देखिएको हो । उक्त महसुल भुक्तानी गर्नका लागि संघीय सरकारलाई पत्रसहित लभिङ गरेका छौँ । नगरपालिकाले सबै चुक्ता नगरेपनी केही रकम भुक्तानी गर्दैआएका छौं ।´
आगामी आर्थिक वर्षमा प्रत्येक वडामा रहेका टोल बिकास समितिमार्फत सडक बत्तीको महसुल भुक्तानी गर्ने मापदण्ड बनाएको छ । केही रकम नगरपालिकाले टोलको खातामा जम्मा गरिदिने र अपुग भए टोलबासीसँग उठाएर महसुल भुक्तानी गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
७६ जना कर्मचारीको दरबन्दी रहेको धुलाबारी प्राधिकरणमा हाल ५८ जना दरबन्दी र प्रदेशको टेन्डरमार्फत ५ जना कर्मचारी कार्यरत छन् । प्राधिकरणले नाङ्गो तारको ठाउँमा एक्सएल पिएल ओभर कण्डक्टर तार बिस्तार गरेको छ । गत वर्ष मेचीनगर-१० मा ११ किलोमिटर उक्त तार बिस्तार गरेको हो । आगामी आबमा बाहुनडाँगीमा पनि `एक्सएल पिएल ओभर कण्डक्टर´ तार बिस्तार गर्ने योजना रहेको प्रमुख यादवको भनाई छ ।























































