झापा । झापाका किसानहरूले मल अभाव र कालाबजारी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय, झापामा ज्ञापनपत्र बुझाएका छन् ।
स्वतन्त्र किसान अभियान्ता मानप्रकाश संग्रौलाको नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा सरकारी अनुदानमा उपलब्ध हुने मल सहज रूपमा पाउन नसकेको र बजारमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो गरिएको छ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सरकारी संस्थाहरू कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ्गमार्फत वितरण गरिने युरिया मलको मूल्य प्रतिबोरा ९०० देखि १००० रुपैयाँ हुनुपर्नेमा १६०० रुपैयाँसम्म बिक्री भइरहेको छ। त्यस्तै, डिएपी मलको निर्धारित मूल्य २३०० देखि २४०० रुपैयाँ भएपनि बजारमा २८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
स्थानीय सरकारले मल आपूर्तिको व्यवस्था गर्न नसकेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन्। साथै, उनीहरूले मल अभाव हुन नदिन, कालाबजारी नियन्त्रण गर्न, र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न नसक्ने प्रदेश कृषि मन्त्री तथा केन्द्रीय कृषि मन्त्रीको राजीनामा समेत माग गरेका छन्।
किसानहरूको खेतीप्रतिको आकर्षण बढ्दै गइरहेको र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको अवस्थामा सरकारले कृषि क्षेत्रलाई आवश्यक प्रविधि र पूर्वाधारको उचित व्यवस्था गर्नुपर्ने माग किसानहरूले गरेका छन्।
ज्ञापनपत्र बुझाइसकेपछि किसान संग्रौलाले किसानहरूलाई आवश्यक मलसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारको भूमिका दयनीय रहेको बताए ।























































