धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाले बक्यौता असुल्ने नयाँ रणनीति अपनाएपछी अपेक्षा गरेभन्दा बढी विद्युत महशुल संकलन गर्न सफल भएको छ । उसले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियान सुरु गरेसंगै महशुल संकलनमा सफलता मिलेको हो । चालु आर्थिक वर्ष २०८१ को साउन महिनादेखि फागुन ४ गतेसम्ममा ६० दिन कटेका एक हजार ४७ वटा ग्राहक मध्ये नौ सय ७२ ग्राहकको लाइन काट्दा १ करोड ३९ लाख ८० हजार १०२ महशुल संकलन गरेको छ ।
उक्त संकलित भएको महशुल १०४ ग्राहकको बाँकी छदै चार लाखबढी संकलन गरेको महशुल शाखाका प्रेम बुढाथोकीले बताए । उनका अनुसार कार्यालयले १ करोड ३५ लाख ७४ हजार ०६२ रुपैयाँ संकलन गर्ने अनुमान गरेकोमा अपेक्षाभन्दा बढी विद्युत महसुल संकलन गरिएको हो । मेचीनगरमा २७ हजार चार सय ८४ र बुद्धशान्तिमा १४ हजार तीन सय ७९ गरी ४१ हजार आठ सय ६३ ग्राहक छन् ।
ग्राहकमध्ये झण्डै २५ देखि ३० प्रतिशतले समयमै विद्युतको महशुल नतिर्ने गरेका कारण ६० दिने अभियानले बक्यौता अशुलीमा सहज भएको कार्यालयका प्रमुख माधवप्रसाद यादवको भनाई छ । ६० दिन पुगेका ग्राहकको नाम लिष्ट बनाएर फिल्डमा जाने कर्मचारीले ग्राहकले जडान गरेको मिटरबक्सबाट लाइन छुटाउने गर्दै आएका छन् । त्यसपछि ग्राहकले तिर्नुपर्ने बक्यौता रकमको ५० प्रतिशत महसुल र पुनः जडान शुल्क भुक्तानी गरेपछी जोडिदिने गरेका छौं, प्रमुख यादवले भने,`यो अभियानलाई नियमित गरेसँगै सर्वसाधारणले पनि विद्युतको महसुल समयमै तिर्न थालेका छन् ।´
फोन पेइको माध्यम र कार्यालयमै पुगेर बक्यौतासहितको महसुल भुक्तानी गरेसँगै कार्यालय संचालनमा समस्या आउन छोडेको छ ।
७६ जना कर्मचारीको दरबन्दी रहेको धुलाबारी प्राधिकरणमा हाल ५८ जना दरबन्दी र प्रदेशको टेन्डरमार्फत ५ जना कर्मचारी कार्यरत छन् । प्राधिकरणले नाङ्गो तारको ठाउँमा एक्सएल पिएल ओभर कण्डक्टर तार बिस्तार गरेको छ । गत वर्ष मेचीनगर-१० मा ११ किलोमिटर उक्त तार बिस्तार गरेको हो । आगामी आबमा बाहुनडाँगीमा पनि `एक्सएल पिएल ओभर कण्डक्टर´ तार बिस्तार गर्ने योजना रहेको प्रमुख यादवको भनाई छ ।























































