काँकरभिट्टा । झापाको मेचीनगरमा आगामी फागुन २१ गते तय गरिएको पाँचौँ मेचीनगर गोल्डकपको मिति सारिएको छ । शुक्रबार मेचीनगर गोल्डकप मुल आयोजक समितिले स्थानीय पत्रकारसँगको भेटघाटमा मेचीनगर गोल्डकप तीन दिनपछि फागुन २४ गतेदेखि सुरु गरिने जानकारी गराइएको हो ।गोल्डकप मुल आयोजक समितिका सहसंयोजक विमल आचार्यले यही फागुन २१ गते हुने भनिएको पाँचौँ मेचीनगर गोल्डकप फागुन २४ गतेबाट सञ्चालन गरिने बताए ।उनले प्राविधिक कारणबस तीन दिनका लागि पछि सारिएको बताए । अहिले देशैभरि फुटबल प्रतियोगिताहरु भइरहेकोले ए- डिभिजनका खेलाडीहरुको समय मिलाउन गोल्डकपको समय सार्नु परेको मेचीनगरका पूर्वनगरप्रमुख समेत रहेको आचार्यले जानकारी दिए ।
गोल्डकप सदस्य एवम् झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेत (सुन्दर)ले यही फागुन २४ गतेदेखि हुने मेचीनगर गोल्डकपमा ए डिविजनका ४, मोफसलका २ र भारतका २ वटा टिम गरेर ८ वटा टिमको सहभागिता रहने बताए ।
मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले मेचीनगर गोल्डकप सफल पार्न राजनीति भन्दा टाडाँ रहेर सबै राजनीतिक दल, व्यवसायी, समाजसेवी, खेलप्रेमी लागेको बताए ।
सोही अवसरमा आयोजक समितिले प्रेस क्लब मेचीनगरको छैठौं अधिवेशनबाट चय भएका कार्यसमितिलाई अबिर र खादा लगाएर बधाई तथा सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, सचिव प्रविण अधिकारी लगायतले धारणा राखेका थिए ।
छलफलको सहजिकरण आयोजक समितिका सदस्य सचिव राजु कार्कीले गरेका थिए ।























































