मेचीनगर । मेचीनगरका विभिन्न वडामा आलु खेती गरिरहेका कृषकहरूलाई आलु खेती प्रर्बद्धनका लागि नगरपालिकाले चासो देखाएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा मेचीनगर–१५ नम्बर वडाका विभिन्न ठाउँका कृषकलाई भेटेर आलु खेती प्रर्बद्धनका लागि चासो देखाएको हो ।

वडा नम्बर १५ का कृषकहरुले उत्पादनसँग जोड दिन आलु खेतीका लागि नगरपालिकासँग अनुदान माग गरेका छन् ।माग गरेका दस वटा फर्म र व्यक्तिगत किसानहरूले निवेदन दिएका थिए । त्यसमध्ये चार वटा फर्मको प्रस्तावलाई प्रक्रियाको तयारीका लागि नगरप्रमुख बुढाथोकीको टोलीले निरीक्षण तथा अनुगमन गरेको छ ।

निवेदन दिएका मध्ये चार वटा फर्मका कृषकले आलु खेती कसरी गरिरहेका छन् र त्यसको प्रर्बद्धनका लागि पनि स्थलगत निरीक्षण गरिएको उनको भनाई छ ।मेचीनगर–१५ को कृष्ण र शिव भेटवालको न्यु भेटवाल कृषि फर्म, रामहरि नेपाल र लिला खनालको नेपाली बाबू कृषि स्मार्ट फर्म, रूहिदास राजबंशीको भांगासीतु कृषि फर्म र रमेश राईको चामलिङ कृषि फर्मको अनुगमन गरिएको छ ।

टोलीमा नगरप्रमुख बुढाथोकी, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान, आर्थिक विकास समिति सदस्य खेमकुमार सुब्बा लगायत रहेका थिए ।स्थानीय कृषकले खेतमा नै आएका नगरप्रमुख बुढाथोकीको टोलीलाई आलुका विभिन्न विरुवा र विउँका विषयमा जानकारी गराएका थिए ।