काँकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । बुधबार दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले व्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् ।
ओखलढुंगा सुनकोशी गाउँपालिका- १० निवासी विक व्यारेक भवनको ढोका लगाई पंखामा तन्नाको पासो लागेर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसअघि फागुन ४ गते प्रहरी नायव निरीक्षक धनराज खतिवडाले जिल्ला प्रहरी कार्यालयको व्यारेकको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए ।