धाइजन । जरा फाउण्डेशनले स्थापना गरेको सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत भएका छन् । बलभद्र जनता माविको ६५ औँ बार्षिकोत्सवमा विद्यालयमा कृष्णप्रसाद प्रसाईले बुबा जय र आमा राधादेवी प्रसाई (जरा) को स्मृतिमा स्थापना गरेको फाउण्डेशनले सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार भण्डारी पुरस्कृत गरेको हो ।
सिलीगुडीका डा.भीखी प्रसाद सम्मानितत्यस्तै साहित्यतर्फ भारत सिलीगुडीका डा.भीखी प्रसाद ‘वीरेन्द्र’लाई पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी र डा.भीखीप्रसादलाई जनही नगद १५ हजारद्वारा सम्मानित गरिएको थियो ।
यस्तै २ जना गरीव तथा जेहेन्दार पुरस्कारबाट कक्षा १२ का युनिक मेचे र प्रियांशा उप्रेतीलाई पनि जनही नगद ५ हजारसहित सम्मान गरिएको छ ।फाउण्डेशनको नाममा स्थापना भएको चार वटा विद्याको पुरस्कार प्रत्येक वर्ष विद्यालयले वितरण गर्ने गरेको छ । यसैगरी विद्यालयमा स्थापना गरेका थुप्रै छात्रवृति र अक्षय कोषबाट शिक्षक तथा विद्यार्थी र दाताहरुलाई सम्मान गरिएको छ ।शिक्षक होमराज ढकाललाई दुर्गादेवी सिटौला स्मृति कोषले सम्मान गरेको थियो । ढकाल नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष समेत हुन् । पुन्यप्रसाद प्रसाई स्मृति कोषका संरक्षक बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मदन भण्डारी फाउण्डेशन कोषका संरक्षक पूर्वसांसद हरिचरण शिवाकोटी लगायतले विद्यार्थिहरुलाई छात्रवृति वितरण गरेको थियो ।
नगरप्रमुखकार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयको शैक्षिकस्तर सुधार्न गर्न शिक्षकहरु मनैदेखि एकता भएर लागे त्यो सम्भव रहेको बताए । ‘जनताको घर–घरमा सिङ्गदरवार आयो भन्ने कुराले जनप्रतिनिधिले गाली मात्र खाएका छन्’, बुढाथोकीले भने–‘शिक्षा लगायतका कानुनहरु संघिय सरकारमा निहित रहेकोले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई काम गर्न गारो छ ।’
पत्रकार भण्डारीकार्यक्रममा सम्मानित श्रष्टा पत्रकार महासंघका संस्थापक महासचिव भण्डारीले नेपाली पाठ्यपुस्तक, नेपाली भाषा, साहित्य, संस्कृति, खानपिन लगायतका मौलिक परम्परालाई विर्सेर विदेशी संस्कार नभित्राउन सबैलाई आग्रह गरेका थिए । उनका अनुसार नेपाल अहिलेसम्म पराधिन नभएर स्वाधिनतासँगले बसेको छ । नेपाल र भारतको सम्बनध कहिलै नटुट्ने उनको भनाई छ ।नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सोही अवसरमा कक्षा २ की छात्रा एलिशा संग्रौलाले सम्पूर्णलाई स्वागत गरेकी थिइन् । विद्यार्थिहरुले विभिन्न जातिय भाषामा नित्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण बानियाँ, नेपाल शिक्षक महासंघ कोशी प्रदेशका अध्यक्ष तेजु चौलागाई लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । बलभद्र जनता माविका व्यवस्थापन समिति अध्यक्ष शान्तिराम चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक तुलसीप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक टिकेन्द्र खनालले गरेका थिए ।























































