झापा । ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसीको दिन । जन्मदिने आमाप्रति सम्झनामा श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।
आफ्ना दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन विभिन्न धार्मिक स्थल, बृद्वाआश्रम तथा धाममा पुगेर सहयोग गर्ने, खाना खुवाउने, दान गर्ने गरेका छन्।























































