सुरुङा । अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गएराति अन्दाजी १०ः५० बजे झापाको कन्काई नगरपालिका–३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेबाट खटिएको गस्ती टोलीले उक्त काठ नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा मे १ त ४९४७ नम्बरको ट्रयाक्टरमा इलामबाट झापातर्फ ल्याउँदै गरेको विलविजक पुरा नभएको अन्दाजी २ लाख ५० हजार बराबरको १८० क्यु फिट चिलाउने जातको गोलिया काठ बरामद गरेको थियो ।

काठसंगै सशस्त्र प्रहरीले ट्रयाक्टर चालक इलाम माई नगरपालिका–७ बस्ने २२ वर्षीय प्रविन खड्का र सहचालक इलाम माई नगरपालिका–८ बस्ने १७ वर्षीय दिवस खड्कालाई नियन्त्रणमा लिएको छ । काठ र अन्दाजी ७ लाख बराबरको ट्रयाक्टर गरी जम्मा मूल्य ९ लाख ५० हजार बराबरको गोलिया काठ, ट्रयाक्टर र दुवैजनालाई आवश्यक कार्बाही प्रक्रिया अघि बढाएको छ । 

कन्काई सब डिभिजन वन कार्यालय सुरुङगामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वाटर झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिएका छन् ।