बिर्तामोड । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको प्रयोगले समृद्ध नेपाल र सुखी नेपाली बन्न सक्ने बताएकी छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै भण्डारीले बिज्ञान र प्राविधिलाई प्रयोग गर्दै विद्यार्थीको भबिश्यलाई उज्वल बनाए नेपाल समृद्ध हुने बताएकी हुन् ।
उनले विद्यार्थीहरूलाई वैज्ञानिक सोच र अनुसन्धानमा आधारित क्षमता विकास गराउनुपर्नेमा जोड दिइन्।
अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको बताएकी हुन् । विज्ञान केबल प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको उनको भनाई थियो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।
बिज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राई, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत सयौको उपस्थिति रहेको जनाइएको छ ।























































