मेचीनगर । २२ औं राष्ट्रिय धान दिवसको अवसर झापाको मेचीनगरमा सत्तापक्ष र प्रतिपक्षी दलले किसान र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने शैलीमा फरक पाइएको छ । आइतबार दुवैपक्षले मेचीनगर-७ का छुट्टाछुट्टै स्थानमा राष्ट्रिय धान दिवस मनाएका थिए ।
नेकपा एमाले मेचीनगर कमिटीले २२ औँ राष्ट्रिय धान दिवस मेचीनगर-७, जोरसिमलस्थित नरपति काफ्लेको खेतमा धान रोपाईँ गरेर दिवस मनाएको छ । एमालेका केन्द्रीय सदस्य रविन कोइरालाको आतिथ्यता रहेको कार्यक्रममा एमाले नेता विष्णु प्रसाई, युवा नेता दावा तामाङ लगायतले कृषि र किसानको हितमा काम गर्नेपर्नेमा जोड दिइदै शुभकामना मन्तव्य राखेका थिए । बिउकै बेहुला माला लगाएर सहभागी नेताहरुलाई स्वागत गरिएको थियो । माला लगाएपछि एमाले नेता खुसी र दङ्ग परेर सोफामै बस्न भ्याए ।
मेचीनगर नगरपालिकामा नेकपा एमालेको दुईतिहाइ बढी छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले असारे १५ को लोकगीत बाँसुरीको धुनमा बजाएका थिए। रोपाइँको बृहत कार्यक्रम गरिरहदा किसान प्रोत्साहनका लागि भने कुनै योजना तय गरिएको पाइएन ।
एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए । उक्त कार्यक्रम मेचीनगरले बजेट समेत छुट्याएको एक नेताले बताए ।
यता २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर प्रतिपक्षी दल माओवादी केन्द्रले भने किसानलाई कृषि औजार र डेङ्गुको टोकाईबाट वच्न बिपन्न परिवारलाई झुल वितरण गरेको छ ।
माओवादी केन्द्रका मेचीनगरका अध्यक्ष राजन चिमरियाले किसान कृषि औजार फरुवा र बिपन्न परिवारलाई झुल बितरण झुल वितरण गरेका हुन् । जेष्ठ नागरिक समाज मेचीनगर-७ ले आयोजना गरेको धान रोपाईँ महोत्सवमा ३ सय ५० जना किसानलाई फरुवा बितरण गरेका हुन् । एक सय जना बिपन्नलाई एक\एक थान झुल वितरण गरेका थिए भने सहभागीहरुलाई सामुहिक दहि-चिउरा र केरा खुवाएका थिए ।
जेष्ठ नागरिक समाजले छनोट गरेका २५ वटा टोलबाट बिपन्न किसानको सिफारिसको आधारमा ३ सय ५० थान फरुवा र एक सय परिवारलाई झुल नेता चिमरिया आफैं उपस्थित भएर वितरण गरेका समाजका अध्यक्ष पिताम्बर पौडेलले बताए । प्रतिगोटा ३५० पर्ने कृषि औजार फरुवा र प्रतीगोटा ४ सय पर्ने सय झुल निशुल्क पाएपछि किसानहरु औँधी खुसी भएका थिए ।
मेचीनगर-७ का जेस्ठ नागरिक समाजका अध्यक्ष टिकाराम ढकालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर-७ का वडा अध्यक्ष प्रल्हादमणी ओली र माओवादी मेचीनगरका अध्यक्ष चिमरियाले किसानहरुको पक्षमा सिङ्गो समाज उभिनुपर्ने जोड दिएका थिए ।























































