झापा । झापाको मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार भएका छन्।

प्रहरी चौकी चारआलीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार अपराह्नमा कालिका सिमसारस्थित जंगलमा चार जना पुरुषलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा दुई जना भागेर फरार भएका थिए।

प्रहरीले मेचीनगर–११ निवासी २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्बापो र २७ वर्षीय देवीप्रसाद बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ।

शरीर तथा घटनास्थलको खानतलासीका क्रममा देवीप्रसाद बस्नेत बसेको स्थानमा भुइँमा लुकाएर राखिएको २८ वटा साना प्लास्टिकका पोका फेला परेका थिए। ती पोकाभित्र प्लास्टिकसहित ५ ग्राम २४० मिलिग्राम तथा प्लास्टिकबाहेक १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। आकाश माङ्मु लिम्बु तुम्बापोको साथबाट दुई थान मोबाइल समेत बरामद गरिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार कालिका सिमसार क्षेत्र पछिल्लो समय लागूऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्न व्यक्तिहरूको जमघट हुने स्थानका रूपमा चिनिँदै आएको छ। प्रहरीले फरार भएका दुई जनाको खोजीसमेत तीव्र बनाएको जनाएको छ।