झापा । सूर्यदेवको पूजा, आराधना र उपासनाको पर्व छठको व्रत विधि आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वमा बर्तालुले नदी, तलाउ तथा जलाशयमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ ।
छठ पर्वका लागि राजधानी तथा पुर्वका विभिन्न नदी, पोखरी तथा जलाशय छठ घाट निर्माण तथा आकर्षक रुपमा सजाइएको छ । झापाको कन्काई, बिरिङ, निन्दा, हडिया, फुलवासा, मेचीलगायतका नदी सजाइएको छ भने जलाशयमा पनि पुजा आरधाना गर्ने ब्यवस्थापन गरिएको जनाइएको छ ।
आज चतुर्थीका दिन स्नान गरी चोखो खाने परम्परा छ। यस दिनदेखि पर्व नसकिएसम्म माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोलगायतका खाद्य पदार्थ सेवन गरिँदैन। चतुर्थीको विधिलाई अरबा भनिन्छ। पञ्चमीका दिन निर्जल उपवास बसेर साँझ खीर बनाई चन्द्रमालाई अर्पण गरी खाने विधिलाई खरना भनिन्छ।
षष्ठीका दिन ठेकुवा, फलफूल, मिठाई, नरिवल तथा विभिन्न पकवान बाँसको टोकरीमा सजाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दूध, फूल र जलले अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।
सूर्य र जललाई जीवन तथा शक्तिको स्रोत मान्दै मनाइने छठ पर्वमा सन्तान प्राप्ति, परिवारको सुख, समृद्धि, दीर्घायु तथा रोगबाट मुक्ति प्राप्तिको कामना गरिन्छ। पछिल्लो समय तराईमा सीमित छठ पर्व पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।





