विर्तामोड । विर्तामोड नगरपालिकाले पशुमा लाग्ने सङ्क्रमक रोग ‘लम्की स्किन’ विरुद्को खोप लगाउन सुरु गरेको छ । आइतबार वडा नम्बर १० मा रहेको `सफल गाई फर्म´बाट यो रोग विरुद्को खोप लगाउन सुरु गरेको हो ।
‘लम्की स्किन’ असार अन्तिम सातादेखि विर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरूमा खोप लगाउन सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिए ।
सबै वडाका कृषकहरूको घर-घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरूले प्रतिगाई १ सय ३० रुपैयाँ तिर्नुपर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज, निडिल, प्राविधिकहरूको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ । १५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपन्छी तथा मत्स्य विकाश शाखाले जनाएको छ ।
`लम्की स्किन ´ रोग विरुद्ध खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले ‘लम्की स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाअध्यक्ष गुरुङले आफूले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्सिन लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताए ।
विर्तामोडमा ‘लम्की स्किन’ कारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईंमा ज्वरो आउने, शरीरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।






















































