झापा २२, साउन । कनकाई घाटमा दाहसंस्कार गर्न लगिएको एक महिलाको शवलाई प्रहरी नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय सुरुङगा र बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार दिउँसो ३ बजे कनकाई नगरपालिकास्थित माई खोलाको घाटबाट शव नियन्त्रणमा लिएको हो ।  शिवसताक्षी नगरपालिका–९ घर भई हाल कनकाई नगरपालिका– ३ सुरुङ्गामा डेरा गरी बस्ने ३२ वर्षीय पूजा कोचकारको कुटपिटबाट मृत्यु भएको प्रहरी कार्यालयमा उजुरी परेपछी प्रहरीले नियन्त्रण गरेको हो ।


कोचकारको श्रीमान् र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमती पूजाको मृत्यु भएको हुनसक्ने आशङ्कामा स्थानीयले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मौखिक उजुरीमा दिएपछि उनको शवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
पूजाको उपचारका क्रममा आजै कञ्चनजङ्घा अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । शवलाई घाटबाटै नियन्त्रणमा लिएर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

मौखिक उजुरीको आधारमा शवलाई नियन्त्रणमा लिएको बताउँदै प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले भने, ’हाललाई शवलाई पोस्टमार्टमका लागि पठाएका छौँ, घटनाको छानबिन प्रहरीले गर्दैछ ।’ 

माघ १८ गते घरमा अचानक बेहोस भएपछि पूजालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रादेशिक अस्पतालले उनलाई माघ २० गते रेफर गरेपछि थप उपचारका लागि कञ्चनजंगा अस्पताल बिर्तामोड भर्ना गरिएको थियो ।
यता कञ्चनजङ्घा अस्पताल चिकित्सक प्रमोदकुमार शाहका अनुसार पूजाको लिभरमा समस्या देखा परेपछि परिवारजनले अन्तिम अवस्थामा अस्पतालमा ल्याएको र उपचारको क्रममै उनको मृत्यु भएको बताए ।  

 पूजाका श्रीमान् ५० वर्षीय चोपेन्द्र कोचकार घर निर्माण सम्बन्धी ठेक्कापट्टाको काम गर्दै आइरहेको छ । चोपेन्द्रको दुई वटा श्रीमतीमध्ये मृतक पूजा कान्छी श्रीमती हुन । पूजाको माइती भारतको नागाल्याण्ड भएको भन्ने बुझिएको छ । उनीहरूका १० वर्षको एक जना छोरा छ । यसअघि श्रीमान् श्रीमतीबीच झैझगडा हुने गरेको भएपनि यसपटक भने बिरामी भएरै उपचारका लागि लगिएको बताइएको छ ।