धरान २५, साउन । धरान उद्योग वाणिज्य संघमा भर्खरै स्थापना गरिएको प्रयोगशालामा बुधबार दिनभरीमा ४० जनाले डेंगी परीक्षणका लागि रगतको नमूना दिएका थिए।

रिपोर्ट आउँदा तीमध्ये ३८ जनामा ‘डेंगी पोजिटिभ’ देखियो। त्यही प्रयोगशालामा मंगलबार ३३ जनाले परीक्षण गराउँदा २९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो।

धरान सभागृहको प्रयोगशालामा बुधबार ६४ जनाले परीक्षण गराउँदा ४९ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही ल्याबमा मंगलबार ७४ जनाले परीक्षण गराउँदा ५९ जनामा पोजिटिभ देखिएको थियो।

सरकारी र निजी गरेर धेरैवटा प्रयोगशालामा परीक्षण भइरहेको डेंगी संक्रमण धरानमा भयावह बन्दै गएको प्रमाण यो तथ्यांकले दिन्छ।

स्वास्थ्यकर्मी हुन् वा उपमहानगरका स्वास्थ्य हेर्ने कर्मचारी सबैको स्वर एकै छ, ‘धरानमा डेंगी संक्रमण झनै बढ्दै गएको छ।’

जेठ तेस्रो सातादेखि यता बुधबार साँझसम्ममा धरानमा ११ हजार ८२ जनाले परीक्षण गराइसक्दा ७ हजार ६ सय ६६ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।

धरान उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भइसकेको धरानमा संक्रमण दर ७६ प्रतिशत रहेको छ।

‘उपमहानगरले स्थापना गरेको ल्याब होस् वा निजी प्रयोगशालाहरू, सबैतिर परीक्षण गराउनेको लर्को छ’, उनले भने ‘संक्रमण दर पनि उच्च देखिएको छ।’

२०७६ मा पनि यही बेला धरानमा डेंगी संक्रमणले यस्तै भयावह रूप लिएको थियो। त्यसबेला ४३०५ जना संक्रमित बनेका थिए। त्यसपछि पनि कोशी प्रदेशका अन्यत्रभन्दा धेरै डेंगी संक्रमित धरानमै भेटिने गरेका थिए।

यसपटक त्यसबेलाभन्दा धेरै संक्रमित बनिसकेको र नौ जनाले ज्यान गुमाइसकेको सहरमा संक्रमित थपिने क्रम जारी छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप उच्च छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगीका लागि डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याएको छ। जहाँ दिनहुँ भर्ना हुने बिरामीको चाप छ।

धरानमा हरेक वर्षजसो दोहोरिने डेंगीको ठूलो आकारको संक्रमणको मुख्य कारण यहाँको खानेपानी अभाव नै हो।

                                     श्रोत:  सेटोपाटीबाट