भक्तपुर ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ। अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए। ​​​​​​

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। 

यसरी हेर्न सकिन्छ नतिजा 

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ।

त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ