तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेङ्गु फैलिएको चम्लागाइँले बताए। “विशेष गरी गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ”, उनले भनिन्, “डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेङ्गुका बिरामीको उपचार भइरहेको उनले जानकारी दिइन्।
चम्लागाइँका अनुसार साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच÷पाँच जना डेङ्गुका बिरामी फेला परेका छन्।
डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। “सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका डेङ्गु भएको हुन सक्छ”, उनले भनिन्।
मेचीनगर पनि जोखिममा
झापाको मेचीनगर क्षेत्रमा ४ स्थानमा नि:शुल्क डेंगु परीक्षणको व्यवस्था मिलाइएको छ । काँकरभिट्टा, धुलाबारी, ज्यामिरगढी र बाहुण्डाँगीमा नि:शुल्क डेंगु परीक्षणको व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सहरी क्षेत्रसँगै राजमार्गका विभिन्न स्थानमा टायरको थुप्रो, अलपत्र सार्वजनिक भवनहरु धेरै रहेकाले पनि नगर डेंगुको जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
मेचीनगरमा हालसम्म ३४ जना डेंगु संक्रमण देखिएको छ। हालसम्म देखिएका डेंगुका संक्रमितमध्ये आधाभन्दा बढी संक्रमित मेचीनगर ६ काँकरभिट्टाका मात्रै छन् । सहरी क्षेत्रमा संक्रमण तिव्र फैलिँएको पाइएको छ ।






















































