मेचीनगर ९ भदौ । झापाको मेचीनगर-१० स्थित ३ वटा संस्थाको सहकार्यमा प्रगतिशील युवा क्लबले शनिबार´सर्पदंश सम्बन्धि जनचेतनामुलक´ कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय नमुना शान्ति वाल क्लव, नमूना शान्ति टोल विकास संस्था र अपाङ्गमैत्री स्वरोजगार संस्थाको सहयोगमा एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

सर्पदंश केन्द्र, अरिदमन गण चारआलीको प्राविधिक सहजीकरण सहयोगमा ´सर्पदंशबाट बच्न तथा सर्पको पर्यावरणीय महत्व´को बिषयमा ६० जनाबढी सहभागीबीच प्राविधिक ऋषिराम पोख्रेलले सहजीकरण गराएका थिए ।

मेची नगरपालिकाका मेयर गोपाल बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर बुढाथोकीले मौसम प्रतिकुलताको समयमा सर्पदंश सम्बन्धि चेतनामुलक कार्यक्रमले सबैलाई सचेत गराएको बताए ।

प्रगतिशील युवा क्लबका अध्यक्ष कविता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० नम्बर वडाका अध्यक्ष नारायण खनाल, वडा सदस्य विशाल कार्की, नमुना शान्ति टोल बिकास समितिका अध्यक्ष बलराम चिमरिया, अपाङ्गमैत्री स्वरोजगार संस्थाका राम बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वीकृति खनालले स्वागत गरेको कार्यक्रमको संचालन प्रगतिशील युवा क्लबका सचीव सुजन घिमिरेले गरेको रोशनी अधिकारी खनालले जानकारी दिए ।





















































