दमक । कोशी पुलमा गाडी छाडेर बेपता भएका डाक्टर प्रज्वल कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् ।स्थानीयवासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
डाक्टर कोइराला आइतबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा उनको मोबाइल भेटिएको थियो भने जुत्ता र मोजा पनि त्यहीँ भेटिएको थियो ।
हिजो दिनभरि खोज्दासमेत उनी फेला परेका छैनन् । ‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेका थियौ,’ प्रहरी निरीक्षक फुयाँलले भने, ‘कोशीमा पानीको बहाव बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी गयौँ ।
उनी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका-१ मा उनको घर छ । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत थिए ।





















































