झापा । घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा सडक डिभिजन कार्यालय दमकका पूर्वप्रमुख इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक रहेका बेला पोखरेलले घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । उनी २०६४ सालतिर सडक डिभिजन कार्यालय दमकको कार्यालय प्रमुख रहेका थिए ।
माइती नेपालले महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको थियो । असार १८ गते उनी जाहेरी लिएर गौशाला वृत्त पुगेपनि जाहेरी नलिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ (टेकु) र कालीमाटी महिला सेल गइन् । टेकु प्रहरी र कालीमाटी महिला सेलले पनि सुरुमा वास्ता गरेनन् । साउन ५ गते मात्रै टेकु प्रहरीले जाहेरी दर्ता गर्यो ।
साउन ८ गते जिल्ला अदालत काठमाडौँले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । यसपछि फरार भएका पोखरेललाई साउन १२ गते प्रहरीले पक्राउ गरेपछि मुद्दा प्रक्रिया अगाडि बढेको थियो । पोखरेललाई थुनामा नपठाएसम्म मिलापत्र गर्न पीडक पक्षले पीडितलाई दबाब दिँदै आएका थिए ।
सरोकारवाला निकायमा धाउन थालेको ५५ दिनमा पोखरेललाई थुनामा पठाइएपछि केही हदसम्म न्यायको महसुस भएको पीडितले बताइन् ।





















































