झापा । झापामा लागुऔषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले प्रदेश सांसदका छोरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी प्रदेश सांसद सविना बजगाईँ छोरा मेचीनगर-१० बस्ने २५ वर्षीय हिमाल बजगाईँ, सोही ठाउँका ३४ वर्षीय नवी मिया `चुरौटे´ र २५ वर्षीया स्मृति लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लागू औषध गाँजाको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि राखिएको थियो । प्रहरी स्रोतका अनुसार लागूऔषध राखिएको कोठामा तीनै जना फेला परेका थिए ।
त्यसपछि उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारी लगिएको थियो । मिया लागूऔषधको कारोबारी भएकाले उसलाई मुद्दा चलाउने र सांसदका छोरासहित दुई जनासँग लागूऔषध नभेटिएकोले मनोपरामर्श गरी छाडिदिएको प्रहरीले जनाएको छ ।
उता लागुऔषध तस्करी गर्दा शरीरमा टाँसेर (बडी फिटिङ) गर्ने तरिका बढेको छ । पक्राउ पर्ने अधिकांशको शरीरमा यसरी नै टाँसेर ल्याउने गरेको फेला पर्ने गरेको छ ।
विराटनगर–१६ हुलास चोकमा बुधबार शंका लागेर एक युवकको शरीर तलासी गर्दा ठुलो मात्रामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध ब्युरोले तेह्रथुम म्याङलुङ–९ का २५ वर्षीय सनम लिम्बूलाई पक्राउ गरेको छ । उनको शरिरमा टेप लगाएर टाँसिएको नाइट्राजेपाम ट्याब्लेट ३ सय २० थान बरामद प्रहरीले गरेको छ ।
ब्युरोका वरिष्ठ प्रहरी नायव निरीक्षक दिपक यादवका अनुसार भारतको जोगवनीबाट फर्किएका लिम्बूलाई शंका लागेर शरीरको तलासी लिइएको थियो । लिम्बू तेह्रथुम म्याङलुङमा लागुऔषधको ब्यापार गर्ने युवक भएको प्रहरीको भनाई छ । उनलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा राखेको छ ।























































