मेचीनगर । समयमै भुमी अधिकार कार्यान्वयन नभएको भन्दै भुमी अधिकार तथा श्रमिक संगठन नेपालले शुक्रबार ५ बुँदे मागसहित झापाको मेची नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
भुमी अधिकार कार्यान्वयनका लागि संगठनको केन्द्रीय समितिको निर्णयको निर्देशनअनुसार स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको संगठनका प्रदेश सचीव कृष्णराज सिग्देलले जानकारी दिए ।
सचीव सिग्देलको अगुवाई तथा जिल्ला अध्यक्ष गोलसिंह ताजपुरियाको संयोजनमा ब्यानर र नारासहित मेचीनगर पुगेका सुकुम्बासीहरुको टोलीले नगरका कार्यबाहक मेयर हृदय राजबंशीलाई ५ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

भुमीबिहिन, दलित, भुमिबिहिन अव्यवस्थित बसोबास गर्नेको माग तत्काल पूरा गर्न जोडदार माग गर्दै गम्भीर ध्यानाकर्षण गराएको प्रदेश सचीव सिग्देलले जानकारी दिए ।

संगठनका नगर अध्यक्ष जयबहादुर दाहाल (मेयरसव) को समन्वयमा रहेको ध्यानाकर्षण कार्यक्रममा स्थानीय तहमा भुमीबिहिन सुकुम्बासी, भुमीबिहिन दलित र भुमिबिहिन अव्यवस्थित बसोबासीहरुको भुमी सम्बन्धि नापजाँच लगायतका कामलाई सम्बोधन गरी तत्काल कार्यान्वयन गर्नुपर्ने, संगठनको तर्फबाट भुमी आयोग मेचीनगर समितिमा एकजना प्रतिनिधि समावेश गर, न्यून राजस्व लिई भुमी सम्बन्धि धनीपुर्जा बितरण तत्काल लागू गर, चुरेक्षेत्र तथा सार्वजनिक ठाउँमा बसोबास गर्दै आएकालाई उचित ठाउँ ब्यवस्थापन गर र नागरिकको भुमी अधिकारको माग तत्काल पूरा गरलगायतका मागसहितको पत्रद्वारा ध्यानाकर्षण गराएको संगठनका प्रदेश सचीव सिग्देलले बताए ।





















































