काठमाडौं । अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको हो । गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए।
ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आफ्नो बैंक खाता प्रयोग गर्न दिएर गिरोहलाई सघाउने अन्य दुईजना पनि थुनामा रहेको ब्युरोले जनाएको छ। गिरोहमा धेरैजना भए पनि गौतम नै नाइके भएको एसएसपी श्रेष्ठले बताए।
विभिन्न देशमा गौतमका एजेन्ट
रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए।
त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सास पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।
सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उनले बताएका छन्। नयाँ पत्रीकाबाट





















































