काठमाडौं । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्न समय अवधि बढाएको छ । ‍साना करदातालाई सुविधा दिन विभागले चार महिनामा करको विवरण बुझाउने गरी समय बढाएको हो ।

बिभागले सूचना जारी गर्दै विभागले वार्षिक एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदातालाई चार-चार महिनामा विवरण पेश गर्न पाउने गरी व्यवस्था गरेको जनाएको हो। यसअघि ती करदाताहरुले मासिक रुपमा विवरण दाखिला गर्नुपर्थ्यो।

२०८० साउनदेखि विवरण बुझाउने अवधिलाई मासिकबाट चौमासिक कायम गरिएको विभागले जनाएको छ।

यसअघि मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदाताले अब २०८० साल साउनदेखि हरेक चार महिना अर्थात साउन, भदौ, असोज र कार्तिकको विवरण मंसिर २५ गतेसम्म बुझाउनुपर्नेछ।

यस्तै, मंसिर, पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म र चैत, बैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेश गर्ने सुविधा विभागले दिएको छ।

करदाताले मासिक रुपमा नै कर विवरण दाखिला गर्न चाहे त्यो सुविधा पनि जारी रहने विभागले जनाएको छ । तर त्यसका लागि करदाताले सम्बन्धित राजस्व कार्यालय करदाता सेवा कार्यालयमा आजको मितिले १५ दिनभित्र जानकारी दिनुपर्ने विभागले जनाएको छ।