झापा । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा झापाको मेचीनगर-११ स्थित बलभद्र जनता उच्च माबीले विविध कार्यक्रमबीच बाल दिवस मनाएको छ ।
बिद्यालयमा अध्ययनरत बालबालिकाको क्षमताको बिकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बलभद्र भित्ते पत्रिका प्रकाशन, सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, कविता वाचन प्रतियोगितालगायतका कार्यक्रम गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय घोषित बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरियाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका शिक्षक डम्बरकुमार श्रेष्ठले तीन जना गरीब जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका थिए । कार्यक्रमको संचालन होमराज ढकालले गरेका थिए ।
त्यस्तैगरी मेचीनगर-७ स्थित आदर्श माविले शुक्रबार विभिन्न बिधा बाल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विद्यार्थी र्यालीदेखि नृत्य तथा गायन, सचेतनामूलक नाटक प्रदर्शन लगायतका विभिन्न कार्यक्रम सम्पन्न भएको हो ।
‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विद्यालय प्रांगणबाट निस्किएको विद्यार्थीहरुको वृहत र्याली इटाभट्टा चोक पुगेर पुनः विद्यालय प्रांगण फर्किएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाटक जस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुर्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा समग्र विद्यार्थीको नेतृत्व गर्दै बाल क्लबकी अध्यक्ष प्रिया अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरुले प्रविधिको दुरुपयोग गर्दा निम्तिने समस्यालाई नाटकमा देखाए भने ३ कक्षाका नानीहरुले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे ।
कार्यक्रममा शिक्षक खगेन्द्र सुवेदीले गित प्रस्तुत गरे भने कक्षा ९ की छात्रा सृष्टी कार्कीले मन्तव्य प्रस्तुत गरिन् । शिक्षक अभिभावक संघका अध्यक्ष भोला तिम्सिना, विद्यालयका सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत विद्यालयकी शिक्षिका रुमा राजवंशीले गरेकी थिइन् भने सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।
यता मेचीनगर-१० स्थित धुलाबारी माध्यमिक विद्यालयले एउटै कार्यक्रममा तीन दर्जन भन्दा बढीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले दोसल्ला अविर र प्रमाणले सम्मान गरिएको थियोे । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ पराजुलीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यार्थी, अविभावक, आमा समूहका प्रतिनिधि र विद्यार्थीहरु सहितको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक महेन्द्रविलास लुईटेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहायक प्रधानाध्यपक तेजप्रसाद चौलागाँई र शिक्षक रमेशकुमार दाहालले संयुक्त रुपमा संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





















































