झापा । वर्ल्ड मेयर फोरमको मिटिङमा सहभागी हुन झापाबाट ५ वटा पालिका प्रमुख दक्षिण कोरियाको राजधानी सिओल प्रस्थान गरेका छन । सिओल महानगरपालिकाका मेयरको आमन्त्रणपछि झापाका चार नगरपालिका प्रमुखहरू कोरिया प्रस्थान गरेका हुन् । भद्रपुरका गणेश पोखरेल, बिर्तामोडकी पवित्रा महतारा प्रसाईँ, कनकाईका राजेन्द्र पोखरेल, दमकका राम थापा र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी छन् ।
पालिका प्रमुखसहितको टोली शनिबार राति त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया प्रस्थान गरिसकेका छन् । भद्रपुरका प्रमुख साथै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका उपाध्यक्ष योगेन्द्र पौडेल सहभागी छन् । पौडेलका अनुसार झापाको टोली सिओलमै आयोजना हुने वर्ल्ड स्मार्ट सिटी अर्गनाइजेशनको वार्षिक महासभामा समेत सहभागिता जनाउने छ । ती दुवै कार्यक्रम यही असोज ८, ९ र १० गते सिओल महानगरमा आयोजना हुँदैछ ।























































