झापा । मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरेका छन् । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका-४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान समयमा ती युवकहरूलाई पक्राउ गरेका थिए ।
स्थानीयले पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरीलाई बुझाएका छन् ।
पक्राउ पर्नेहरूमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– २ निवासी ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा निवासी २९ वर्षीय मोहम्मद जुबेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
ती युवकहरूले सडकमा मोटरसाइकल डोराउँदै लगिरहेका थिए । स्थानीय उपेन्द्रनाथ पौडेलले मोटरसाइकल किन डोराएको भन्दै उनीहरूसँग सोधपुछ गरेको थिए । प्रतिउत्तरमा उनीहरूले पेट्रोल सकिएको र सर्भिसिङ गर्नुपर्ने भएकोले मोटरसाइकल बन्द भएर डोराउनु परेको जवाफ फर्काएका थिए ।
‘उनीहरूले ग्यारेजमा लानुपर्ने मोटरसाइकल मेची नदीतर्फ लैजान खोजेपछि शङ्का उत्पन्न भयो,’ स्थानीय पौडेलले भने, ‘त्यसपछि स्थानीय युवाहरूले दुवै जनालाई समातेर प्रहरीलाई जिम्मा लगायो ।’ पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालको भनाई छ ।
नियन्त्रणमा लिएको मोटरसाइकल इलाम जिल्ला देउमाई नगरपालिका–३ बस्ने तारा कुमार राईको छोरा निश्चल राईको रहेको खुलेको छ । निश्चल हाल बिर्तामोड नगरपालिका–४ मेघावारिमा डेरा गरी बस्दै आएका छन् । उनकै कोठाबाट सोमबार बिहान ४ बजे मोटरसाइकल चोरी भएको थियो ।





















































